Wednesday, June 25, 2014

किन रौद्र रुप देखाउँछ प्रहरी?



शोभा शर्मा

असार १२-

बालाजुको एउटा घरमा डेरामा बस्थे
अर्जुन गुरुङ। ४ वर्षअघि उनी बस्ने
घरको माथिल्लो तलामा बस्ने
मासुपसले साहुकोमा चोरी भयो।
चोरी भएको खबर
पाएपछि प्रहरी आयो।
घरभरि मान्छेहरु जम्मा भएका थिए।
गुरुङ पनि गए। उनले कपाल
पालेका थिए, रफ ड्रेसअपमा थिए
उनी। प्रहरीलाई शंका लाग्यो,
उनलाई थाना लग्यो


प्रहरीले अर्जुनलाई एकदुई पटक बोलाउँदै
सोधपुछ गर्दै छाड्दै ग¥यो।
बालाजुको प्रहरीले उनलाईफेरि बोलायो र रातभरि राख्यो।
‘६६ साल थियो, ठ्याक्कै याद भएन,
त्यो रात मलाई प्रहरीले नमिठो टर्चर
दियो,’ उनले भने, ‘हिरासतबाट
निकालेर पुलिस सुत्ने ठाउँमा लगे र
खाटमुनि कोचेर कुटे।’
बानेश्वरस्थित एभरेष्ट
होटलमा यातनासम्बन्धी कार्यक्रममा आएका अर्जुनले
ऊबेला प्रहरीले आफूलाई
दिएको यातना सम्झेर घृणाले अनुहार
बिगारे। उनलाई
कुट्दा बाँसको सिफ्टा भाँचिएपछि प्रहरीले
मसिनो पाइपले सिर्का लगाउन
थालेका थिए।
‘एकजनाले छातीमा बुटले टेक्यो र
पैतालामा पाइपले
हान्यो अनि अर्को आयो र त्यसै
गरी पिट्यो, छाती, पिठ्युँ कतै
उनीहरुले छाडेनन्।’


प्रहरीका अपशब्द त उनलाई सजिलै पचे
तर जब बोलीपिच्छे चोर भनेर
गाली गर्थे, गुरुङ झन् बढी मर्माहत
हुन्थे।
भोलिपल्ट उनलाई प्रहरीले मुक्त
गरिदियो।

उनलाई
लागेको चोरी आरोपमा प्रहरीले
कहिल्यै अदालत लगेन।
यो चोरीको उजुरीमा अर्जुनलाई
यातना दिनेबाहेक प्रहरीले अरु कुनै
अनुसन्धान अघि बढाएन।
अर्जुनलाई भने त्यो घटनाबाट
मानसिक रुपमा मुक्त हुन तीन वर्ष
लाग्यो। ‘घटनाको तीन वर्षसम्म त
मलाई कहिले पुलिस देख्न नपरोस्
जस्तो लाग्थ्यो,
पसलमा बसिरहेका बेला पुलिसको भ्यान
आयो भने मन त्यसै झसङ्ग हुने,’ उनले भने।
थुनामुक्त भएपछि अर्जुनले तत्कालीन
डिएसपी बसन्तबहादुर कुँवरसहित २
जना विरुद्ध जिल्ला अदालत
काठमाडौँमा यातना तथा क्षतिपूर्ति मुद्दा दिए।
जिल्ला अदालत काठमाडौँले प्रहरीले
यातना दिएको ठहर गर्दै ३५ हजार
क्षतिपूर्तिको फैसला गर्यो।
तर, अर्जुन सन्तुष्ट छैनन्। यातना दिने
प्रहरीहरुलाई विभागीय
कारबाहीसमेत हुनुपर्ने माग गर्दै
पुनरावेदन पाटनमा उनले दुई
वर्षअघि निवेदन दिएका छन्।


उनी मात्र होइनन्, प्रहरीले
हिरासतमा लिएका मध्ये १६.७
प्रतिशत थुनुवा यातनाको सिकार
हुने गर्छन्।
एड्भोकेसी फोरमले यसवर्ष
नेपालमा हुने यातनाको प्रतिवेदन
सार्वजनिक गरेको छ।
फोरमका अनुसार २०१३
मा पहिलेको वर्षको तुलनामा प्रहरी हिरासतमा थुनुवाहरुलाई
दिइने यातनामा कम हुँदै गएका छन्।
तर, त्यस्तो कमी पर्याप्त भने छैन।
उसले २०१३ मा मुलुकका २०
जिल्लाका ५७
वटा प्रहरी हिरासतमा गएर ३ हजार
६ सय २२ जना थुनुवाहरुसँग
अन्तर्वार्ता लिएको थियो। तीमध्ये
१६.७ प्रतिशत थुनुवाहरुले आफुलाई
क्रुर,अमानवीय र अपमानजनक व्यवहार
गरिएको बताए। ती मध्ये ५ प्रतिशत
महिला यातनाको शिकार हुन्छन्।
एड्भोकेसी फोरमको तथ्याङ्क अनुसार
बालबालिकालाई दिइने यातना झन
बढी छ। १६ वर्ष मुनिका २५.७ प्रतिशत
बालबालिकाले आफूले
हिरासतमा यातना पाउने उल्लेख
गरेका छन्।


प्रहरीले कुनै पनि अपराधिक
घटनाको अनुसन्धान
गर्दा शंका लागेका व्यक्तिलाई
पक्राउ गर्न सक्छ तर किन पक्राउ
गरिएको भन्ने जानकारीसहित
पक्राउ पुर्जी दिनै पर्छ।
‘संविधानमा उल्लेख गरिएपछि धेरै
थुनुवालाई आफू पक्राउ परेको कारण
खुलाइँदैन, न त २४ घण्टाभित्र
मुद्दा हेर्ने अधिकारी समक्ष नै
उपस्थित गराइन्छ,’
एड्भोकेसी फोरमको प्रतिवेदनमा उल्लेख
छ।
उक्त प्रतिवेदन सार्वजनिक
कार्यक्रममा बोल्दै नेपाल बार
एसोसियसनका अध्यक्ष हरिकृष्ण
कार्किले
नेपालको प्रहरी हिरासतमा हुनेमध्ये
थुनिनुको कारण
थाहा नपाउनेको संख्या धेरै हुनु
दुखलाग्दो भएको बताए।
फोरमकै प्रतिवेदन अनुसार पक्राउ
पर्नुको कारण थाहा नपाउने २०
प्रतिशत थुनुवाहरु छन् भने मुद्दा हेर्ने
अधिकारी समक्ष समयमै नपुर्याइने
३४.५ प्रतिशत छन्।
प्रहरीले पक्राउ गरेका व्यक्तिहरुलाई
अपराध कबुल गराउन यातना दिने
गर्छन्।

अन्य प्रमाणहरुले पुष्टि नगरेसम्म
प्रहरी हिरासतमा गरिएको बयानलाई
प्रमाण नमान्ने कानुन छ। तर
यातनाको स्तर भने धेरै क्रुर र
अमानवीय देखिन्छ।
‘फौजदारी न्यायको अनुसन्धान
प्रणाली अहिले निकम्मा भएर
गएको छ। भौतिक प्रमाण
भन्दा बयानमुखी हुँदै जानु
राम्रो होइन,’ बार अध्यक्ष कार्कीले
भने, ‘मैले हेरेका शतप्रतिशत
मुद्दामा भौतिक प्रमाणलाई ख्यालै
गरिएको छैन।’
...

बर्दियाकी मञ्जु बिक
पनि सुरक्षाकर्मीबाट
अनाहकमा यातना पाएकी एक
महिला हुन्।
२०६२ साल फागुन ४ गते
उनको गाउँमा नेपाली सेनाको गस्ती आयो।
घरनजिकै एकहप्तादेखि माओेवादीले
ल्याएर छोडेको गाडी थियो।
सेनाले सोधेपछि मञ्जुले
त्यो गाडी आफ्नो नभएको बताएकी थिइन्।
सेनाका जवानहरुले उनलाई तथानाम
गाली गरे। गाडीमा बस्न भने। उनले
नमानेपछि बन्दुकको कुन्दाले उनलाई
गाडीभित्र ठेले।
त्यहाँभित्रका सामान बाहिर
फाल्न लगाए। उनले डरले जे
भन्यो त्यही गरिन्।
तेरो नभए किन
यसरी गाडी सफा गर्थिस् भनेर
उनीहरुले फेरि पिट्न थाले।
उनको छाती पिँठ्युँ, टाउको सबैतिर
पिटे। यो सबै उनकी २
वर्षीया छोरीले
देखिराखेकी थिइन्।
‘उनीहरुले अन्तिममा कहाँ हाने
थाहा पाइन तर मेरो नाकबाट
भल्भल्ती रगत बग्न थाल्यो,’ उनले
भनिन्, ‘त्यसपछि बल्ल उनीहरुले
छोडिदिए तर अझसम्म मेरो शरिर
निको भएको छैन।’
त्यही बेलादेखि उनको ढाड दुख्न
थाल्यो। शरीर अझैसम्म पहिले
जस्तो स्थितिमा छैन। काम गर्दागर्दै
के गरिराखेको भन्ने थाहा पाउँदिनन्,
झसङ्झसङ भइरहन्छिन्। बिनाकारण
रिस उठ्छ अनि एक्लै बस्न मन लाग्छ।
त्यो घटनादेखि उनी शारीरिक
मात्र होइन, मानसिक
रुपमा पनि कमजोर भइरहेकी छन्।
मञ्जुले आफूलाई परेको घटनाबारे कतै
उजुर दिएकी थिइनन्। त्यसैले
क्षतिपूर्ति पनि पाएकी छैनन्। दुई
वर्षअघि मात्रै उनले स्थानीय
शान्ति समितिमा नाम
लेखाएकी छिन्।
द्वन्दकालको घटना भएपनि यसले
राज्यका सुरक्षाकर्मीहरु
नागरिकलाई बिनाकारण
यातना दिन हिच्किचाउँदैनन् भन्ने
देखाउँछ। यातना पाउने नागरिकहरुले
राज्यबाट क्षतिपूर्ति पाउन
पनि निक्कै गाह्रो छ।

No comments:

Post a Comment