Thursday, July 10, 2014

आङ्काजी शेर्पाको"पहिचान र संघीयताबारे फैलाइएको भ्रमहरू" सार्वजनिक

आङकाजी शेर्पाको पुस्तक सार्वजानिक



काठमाण्डौ,  असार २६ - पहिचानसहितको संघीयताको बहस भइरहेको बेला जनजाति नेता आङकाजी शेर्पा 'किसान'ले 'पहिचान र संघीयताबारे फैलाइएको भ्रमहरू' हातेपुस्तक प्रकाशनमा ल्याएका छन् । जनजातीय दृष्टिकोणबाट प्रस्तुत गरिएको ५२ पृष्ठको पुस्तकमा बुँदागत रुपमा नेपालको ऐतिहासिक पृष्ठभूमि, संघीयताको परिचय, अन्य मुलुकको संघीय व्यवस्था, यसका प्रकार, राज्य पुनःसंरचना, नेपालको सन्दर्भमा संघीयताको चर्चा गरिएको छ ।

त्यसैगरी पहिलो संविधानसभाको राज्य पुनःसंरचना समितिले संघीय प्रदेश वा एकाईका नामाकरण उत्पीडित जातिको ऐतिहासिक सभ्यता, पृष्ठभूमि, भाषिक, संस्कृति, पुख्र्यौली थातथलोको पहिचानको आधारमा प्रदेशको नामाकरण गर्दा जातीय राज्य नहुने प्रष्ट गरिएको छ ।

पुस्तक विमोचन गर्दै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले उत्पीडनमा परेका जातिहरुको पहिचानसहितको संघीयतामा आफ्नो पार्टी अडिग रहेको बताए । 'हामी उत्पीडनमा परेका सम्पूर्ण जाति तथा वर्गको उत्थानका लागि सशस्त्र द्वन्मा गएका थियौं । तर अहिलेसम्म ती वर्गको उत्थान हुने कुनै भएको देखिएको छैन,' पहिचानसहितको संघीयताका निम्ति आफ्नो पार्टी संघर्ष गरिरहने उल्लेख गर्दै उनले भने, 'त्यसनिम्ति पहिचानसहितको संघीयताका निम्ति उद्देश्य एउटै रहेका पार्टीहरु एकजुट हुन जरुरी छ । हामी कार्यगत एकताका निम्ति तत्पर छौं ।'वैद्यले आफ्नो पार्टी संविधान विरोधी नभएको उल्लेख गर्दै संविधानसभा बाहिर रहेकालगायतको सर्वपक्षीय राजनीतिक सभा बन्नु पर्ने धारणा दोहोर्‍याए । 'जनताका लागि लडेका केही दल संविधानसभा बाहिर छन्,' उनले भने, 'त्यसैले हाम्रो पार्टीले सहमतिका लागि सबै दलहरुसित सर्व पक्षीय राजनीतिक सभाको माग गर्दै आएको छ ।'

त्यसैगरी संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले संघीयता र पहिचान विरोधी दलहरुले भ्रम फैलाएको आरोप लगाए । 'हामी पहिचान र संघीयता प्राप्तिमा लडिरहनेछौं,' उनले भने, 'त्यसनिम्ति सदन र सडक दुवै ठाउँबाट संघर्ष जारी रहन्छ ।'त्यस अवसरमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता इन्द्रबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल, महासंघका संस्थापक महासचिव सुरेश आलेमगर, नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष शान्ति जिरेल, नेपाल शेर्पा संघका अध्यक्ष एडी शेर्पालगायतले विचार राखेका थिए ।

No comments:

Post a Comment